होमपेज / समाज
भूकम्प गएको दुई वर्षपछि सल्यानमा भूकम्पको क्षति आकलन सर्वेक्षण सुरु गरिएको छ । ०८० कात्तिक १७ गते राति गएको जाजरकोट भूकम्पले सबैभन्दा धेरै दार्मा गाउँपालिकामा क्षति पुर्याएको थियो । भूकम्पले धेरै क्षति पुगेको दार्मा गाउँपालिकाबाट विस्तृत क्षति आकलन सर्वेक्षण थालनी गरिएको छ । दार्मा गाउँपालिका– २, लिरापाजाबाट क्षति आलकन सर्वेक्षण कार्य सुरु गरिएको छ ।
ढिलै भए पनि विस्तृत क्षति मूल्यांकलनको काम अघि बढ्नु सकारात्मक भएको दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए । पालिकाभित्रका चार हजार ८१ घरधुरीको विस्तृत क्षतिको मूल्यांकन गरिने उनकाे भनाइ छ । यसका लागि गाउँपालिकाका इन्जिनियरसहित ६ वटै वडाका प्राविधिकहरूलाई तालिमसमेत दिइसकेको उनको भनाइ छ । उनले भने, ‘भूकम्प गएको केही महिनाभित्र नै यस प्रकारको सर्वेक्षण हुनुपर्ने हो, ढिलै भए पनि सुरु भएको छ यसलाई पनि सकारात्मक पक्षका रूपमा लियौँ । अब यसले पुनर्निर्माण प्रक्रियामा गतिशीलता पाउने विश्वास लिएको छु ।’
पुनर्निर्माण कार्यमा ढिलाइ हुँदा भूकम्पपीडितहरू अझै अस्थायी आवासमै बस्न बाध्य छन् । सल्यानमा पहिचान भएका चार हजार ३६४ लाभग्राहीमध्ये दार्मा गाउँपालिकाका एक हजार ६९२ जनाले अझै पहिलो किस्ताबापतको रकम पाउन सकेका छैनन् । दार्मा गाउँपालिकाका अनुसार चार हजार ७४ घरपरिवार विपत् पोटलमा दर्ता भए पनि हालसम्म दुई हजार ३८२ ले पहिलो किस्ताको रकम पाएका छन् ।





.jpg)