होमपेज / समाज
जेठ २२,सल्यान
सल्यान डढेलोको उच्च जोखिममा रहेको जिल्ला हो । सल्यानको वन क्षेत्रको अधिकांस भूभाग सल्लाको रुखले ढाकेको छ । सल्लै सल्लाको जिल्ला भएकाले यस जिल्लाको नाम सल्यान रहन गएको भनाई पनि छ । जम्मा वनको अधिकांस भूभाग सल्लाको रुखले ढाक्दा वर्षेनी आगलागीका कारण वनहरु निरश देखिन्छन् ।
सल्लाको वनले डढेलोको जोखिम बढ्दै जाने र आम्दानीको स्रोत पनि कम हुदै जान थाले पछि सल्यान कुमाख गाउँपालिका ५ बाल्लेमा रहेको जामिरे खोला सामुदायिक वन उपभोक्ता समूहले सल्लाको वन प्रतिस्थापन गर्दै जान थालेको छ । सल्लाको ठाउँमा सालको रख रोप्दै आइरहेको र ती सालका रुख पनि राम्रोसँग हुर्किदै आइरहेको जामिरेर खोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजेन्द्र शाहले बताउनु भयो । उहाँले भन्नु भयो सल्लै सल्लाको वन हुँदा यसले पानीका मुहान सुकाउनुका साथै सल्लाको रुख मुनि अन्य कुनै पनि विरुवा पनि नउम्रिने गर्दछ । जसका कारण एकातिर वर्षेनी डढेलोको जोखिम अर्को तिर वनबाट आम्दानीको स्रोत पनि नभए पछि सल्लाको वन प्रतिस्थापनमा जुटेका हौं ।
२८ दशमलव ७ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा वि.स २०६९÷०७०मा सल्लाको वन प्रतिस्थापन गरी सालको वनमा रुपान्तरण गर्ने उद्देश्यले करिब ५ हेक्टर क्षेत्रफलमा नमुना प्लट स्थापना गरिएको छ । सो क्षेत्रमा हरेक वर्ष दुई पटक गोडमेल, कु काठ हटाउने, वनमारो नियन्त्रण, अग्निरेखा निर्माण लगायतका कार्य भइरहेको शाहको भनाई छ । उहाँले भन्नु भयो सल्लाका रुख क्रमिक रुपमा हटाई सल्लाको विरुवाहरुको संरक्षण गरिएको छ । जसले माटो संरक्षण, वनको जैविक उत्पादनशीलता र .वन्यजन्तुको आवास सुधारमा महत्वपूर्ण योगदान पुगेको छ । प्लटमा रिचार्ज पोखरी निमार्ण, पात संकलन तथा चरिचरणमा रोक लगाईएको छ ।
अध्यक्ष राजेन्द्र शाहले वनलाई अझ अनुसन्धानमैत्री बनाउन रूखहरूमा नामसहितको ‘ट्याग‘ (त्बन) लगाउने योजना रहेको बताउनु भयो । ‘यसले अनुसन्धान गर्न आउने विद्यार्थी, विज्ञ तथा संस्थाहरूलाई धेरै सहजता हुनेछ ।’ उहाँले भन्नु भयो ।
कुमाख गाउँपालिकाको वन, वातावरण तथा जलवायु शाखा प्रमुख जीवन शर्माले सामुदायिक वनहरू उत्कृष्ट कार्य गरिरहे पनि ती कार्यहरूको व्यवस्थित दस्तावेजीकरण अभावमा छोपिएको उल्लेख गर्दै भन्नुभयो । उहाँले भन्नु भयो ‘अब हामीले त्यो अभाव पूर्ति गर्नुपर्ने छ । आगामी वर्षदेखि सुचिकृत तथा उदाहरणीय सामुदायिक वनहरूलाई आर्थिक तथा प्राविधिक सहयोग दिने र सामुदायिक वानहरुले गरेका असल अभ्यासहरुलाई दस्तावेजीकरण गर्ने नीति पालिकाले अवलम्बन गर्नेछन् ।‘
वि.सं. २०६८ मा जिल्लाको दोस्रो उत्कृष्ट सामुदायिक वनको रूपमा र वि.स २०७० मा जिल्लाकै प्रथम उत्कृष्ट सामुदायिक वनको रूपमा सम्मानित भइसकेको छ ।
जामिरे खोला सामुदायिक वनको सफल अभ्यास, स्थानीय नेतृत्व, समुदायको श्रमदान, र पालिकाको सहयोगले सामुदायिक वन व्यवस्थापनको क्षेत्रमा दिगो, पारदर्शी र अनुसन्धानमैत्री अभ्यासको उदाहरण स्थापित गरेको छ । यस्ता प्रयासहरू अन्य सामुदायिक वनहरूका लागि प्रेरणादायी मोडेल बन्न सक्छन् ।





.jpg)