ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यान छत्रेश्वरी गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न

  सल्यान खबर डेस्क २०८२ माघ १३ गते मंगलबार १८:२९:०२ मा प्रकाशित

सल्यान, १३ माघ । 

सल्यानको छत्रेश्वरी गाउँपालिकाले डेढ करोड बढी बजेट रकमान्तर गरेको छ । मङ्गलवार सम्पन्न गाउँभाको १९ औँ अधिवेशनले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि विनियोजित एक करोड ५० लाख रुपियाँ जग्गा सम्बन्धी कानुनी समस्याका कारण तत्काल कार्यान्वयन हुन नसक्ने भएपछि उक्त रकम अन्य योजनामा रकमान्तर गरेको हो । 

भवन निर्माणका लागि विनियोजित तथा ठेक्का प्रक्रियाबाट योजना कार्यान्वयन गर्दा बचत भएको रकम गरेर एक करोड ७१ लाख रुपियाँ बढीको बजेट अन्य विकास योजनाहरूमा छुट्याइएको गाउँ सभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले जानकारी दिए । 

गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अध्यक्षतामा बसेको गाउँ सभा बैठकमा उपाध्यक्ष बुद्ध कुमारी खत्रीले बजेट संशोधन प्रस्ताव पेस गरेकी थिइन् । गाउँभाले बजेट संशोधन सम्बन्धी प्रस्ताव बहुमतका साथ पारित गरेको छ भने अन्य सबै विधेयकहरू सर्वसम्मत रूपमा स्वीकृत गरेको हो । 

चालु आर्थिक वर्षमा पुस मसान्तसम्म छत्रेश्वरी गाउँपालिकाले कुल बजेटको २४।८ प्रतिशत मात्र खर्च गरेको जनाएको छ । आर्थिक विकास समिति संयोजक टिकाराम बुढाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को पुस मसान्तसम्मको आय व्यय विवरण अनुसार कुल बजेट ५२ करोड ५३ लाख ३८ हजार १९४ रुपियाँमध्ये १३ करोड तीन लाख १४ हजार ७७३ रुपियाँ खर्च भएको छ । उनले गाउँ सभामा कृषि व्यवसाय प्रवर्द्धन ऐन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ गाउँ सभामा प्रस्तुत गरेका थिए ।  

गाउँभाले गत साउनदेखि हालसम्म सम्पन्न सात वटा कार्यपालिका बैठकका निर्णयहरू अनुमोदन गरेको छ । वडा नं ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले विज्ञापन व्यवस्थापन विधेयक प्रस्तुत गरेका थिए भने बेरुजु फर्छ्यौट कार्यविधि सम्बन्धी प्रस्ताव वडा नं २ का वडा अध्यक्ष प्रेम बहादुर नेपालीले पेस गरेका थिए । लेखा समिति संयोजक प्रकाश हमालले लेखा समिति गठन तथा कार्यविधि २०८२ प्रस्तुत गरेका थिए भने आर्थिक वर्ष २०८१÷०८२ को महालेखा परीक्षकको कार्यालयबाट प्राप्त प्रारम्भिक प्रतिवेदन तीर्थराज दाहालले गाउँ सभामा जानकारी गराएका थिए । वडा नं ७ का वडा अध्यक्ष टेक बहादुर विष्टले गाउँ सभा सचिवालय स्थापना तथा कार्य सञ्चालन कार्यविधि २०८२ सम्बन्धी प्रस्ताव पेस गर्नुभएको थिए ।  स्वीकृत दरबन्दी तेरिज कार्यपालिका सदस्य तुल्सा विकले प्रस्तुत गरेकी थिइन् । 

गाउँ सभा समापन अवसरमा अध्यक्ष बुढाथोकीले सम्बोधन गर्दै आपसी सहकार्य र विश्वासकै कारण गाउँपालिकाको काम अघि बढिरहेको बताए । पारदर्शिता, जबाफदेहिता र जनमुखी विकासलाई केन्द्रमा राखेर आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने उनको भनाइ थियो । अन्य जनप्रतिनिधिहरूले पनि छत्रेश्वरी गाउँपालिकाको समग्र विकासका लागि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top