होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । चीनको एक अन्तरिक्षयानले चन्द्रमाको पछाडिपट्टिको भागमा पहिलोपटक अवतरण गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ । यो अन्तरिक्ष अन्वेषणमा ठूलो पाइला हो ।
चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसनले चाङए ४ रोबोटलाई अहिलेसम्म एक्सप्लोर नगरिएको दक्षिणी ध्रुव–आइटकेन बेसिनमा अवतरण गराएको थियो । त्यो चन्द्रमाको सतहमा सबभन्दा ठूलो, गहिरो, पुरानो क्रेटर हो । यो मिसनले चन्द्रमाको भूभाग र खनिज अवस्थाको विस्तृत मापन गर्नेछ ।
आइटकेन बेसिन चन्द्रमाको इतिहासको शुरूआततिरै भएको ठूलो ठक्करपछि बनेको मानिन्छ । यो ठक्करले चन्द्रमाको गहिराइबाट सामग्री बाहिर हुत्याएको हुन सक्छ । यसको अर्थ चाङएले चन्द्रमा कसरी बन्यो भन्ने विषयमा नयाँ जानकारी बटुल्नेछ ।
यो सफल अवतरणलाई चीनको ठूलो प्रख्यातिका रूपमा माल्कम डेभिसले चित्रण गरेका छन् । उनी अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युटमा वरिष्ठ सुरक्षा रणनीति तथा क्षमता विश्लेषक हुन् ।
‘यसमा भूराजनीति र अन्तरिक्षराजनीति जोडिएको छ, यो वैज्ञानिक मिसन मात्र हैन, महाशक्तिका रूपमा चीनको उदय भएको यसले संकेत दिन्छ,’ डेभिसले भने ।‘चीनमा अन्तरिक्ष कार्यक्रमका सम्बन्धमा निकै उत्साह छ ।
चीनमा राष्ट्रवादको भावना कडा छ अन्तरिक्षमा चीनको भूमिका उनीहरूको उदयको एक महत्त्वपूर्ण अंग हो ।’यो अवतरणलाई नासाका प्रशासक जिम ब्राइन्डस्टाइनले पनि प्रभावशाली सफलताका रूपमा स्वागत गरे । द गार्डियनबाट ।





.jpg)