होमपेज / समाज
हुलाक कार्यालय बनगाड कुपिण्डे नगरपालिकाको आयोजनामा नागरिकसँग हुलाक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। हुलाक सेवा र नागरिकबीचको सम्बन्धलाई थप प्रभावकारी, सहज र विश्वासिलो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा वडा अध्यक्ष थुमबहादुर विसीले हुलाक सेवाको महत्त्व र यसको प्रभावकारी उपयोगबारे प्रकाश पार्दै हुलाक सेवा परम्परागत चिठीपत्र आदान–प्रदानमा मात्र सीमित नरहेको बताउनुभयो। उहाँले आधुनिक प्रविधिसँगै हुलाक सेवाले नागरिकलाई सहज सेवा प्रदान गरिरहेको उल्लेख गर्दै स्थानीयवासीलाई उपलब्ध सेवाको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो।
हुलाक कार्यालय बनगाडका कार्यालय प्रमुख चन्द्रा थापाले हाल हुलाक कार्यालयमार्फत प्रदान भइरहेका सेवाबारे जानकारी दिनुभयो। उहाँका अनुसार हुलाक सेवा अब चिठीपत्र आदान–प्रदानमा मात्र सीमित नरही कृषि उपज, फलफूल, पासपोर्ट, शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, निमन्त्रणापत्र तथा अन्य महत्वपूर्ण कागजात र सरसामान स्वदेश तथा विदेशसम्म पठाउने तथा प्राप्त गर्ने माध्यमका रूपमा विस्तार भएको छ।
उहाँले कुरियर सेवाको विकल्पका रूपमा हुलाक सेवा पनि भरपर्दो, सुरक्षित र सहज भएकाले सर्वसाधारणले यसको उपयोग गर्न सक्ने बताउनुभयो। हुलाक सेवाको आधुनिकीकरणसँगै सेवाको दायरा विस्तार भएको र नागरिकलाई सहज, सुलभ तथा विश्वासिलो सेवा उपलब्ध गराउनेतर्फ कार्यालय प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले हुलाक सेवाको पहुँच, गुणस्तर र प्रभावकारिताका विषयमा आफ्ना जिज्ञासा तथा सुझाव राखेका थिए। कार्यक्रममा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन स्थानीय समुदाय र हुलाक कार्यालयबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
कार्यक्रममा वडा सदस्य लोगबहादुर बुढा, नेपाल रेडक्रस सोसाइटीका सभापति पुष्कर विसी, बजार व्यवस्थापन समितिका अध्यक्ष ईश्वर बुढा, वडा सचिव दुर्गा उपाध्याय, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका सहसचिव इन्द्रबहादुर बुढाथोकी लगायत स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रममा ग्रिभान पुनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन हुलाक कार्यालय सल्लीबजारका कृष्ण विसीले गर्नुभएको थियो।





.jpg)