ट्रेण्डिङ

होमपेज / समाज

सल्यान छत्रेश्वरीका किसानलाई मिनी टिलर मर्मतसम्बन्धी तालिम

  सल्यान खबर डेस्क २०८२ माघ २७ गते मंगलबार १९:०३:५६ मा प्रकाशित

सल्यानको छत्रेश्वरी गाउँपालिकाका १० जना किसानलाई मिनी टिलर मर्मतसम्बन्धी तालिम प्रदान गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यान र छत्रेश्वरी गाउँपालिकाको साझेदारीमा किसानहरूलाई १५ दिने मिनी टिलर मर्मतसम्बन्धी तालिम सञ्चालन गरिएको हो ।

कार्यालयको चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत प्रविधि तथा मागमा आधारित सीप विकास तालिम कार्यक्रमअन्तर्गत उक्त तालिम सञ्चालन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्याम खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समय किसानहरूलाई वितरण गरिएका मिनी टिलर बिग्रिएर प्रयोगविहीन अवस्थामा थन्किने समस्या बढ्दै गएकाले सो समस्यालाई मध्यनजर गर्दै तालिमको आयोजना गरिएको हो । छत्रेश्वरी गाउँपालिकाका विभिन्न वडाबाट सहभागी किसानहरूले तालिमले कृषि क्षेत्रमा भइरहेको आधुनिकीकरणलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए ।

तालिमको समापन कार्यक्रममा छत्रेश्वरी गाउँपालिका सल्यानका अध्यक्ष ओजबहादुर बुढाथोकीले पालिकाले उत्पादनमा जोड दिने र किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले यस्ता तालिमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले खाद्यान्न उत्पादनमा प्रोत्साहन गर्नुका साथै किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन उद्यमशीलतामा समेत जोड दिइँदै आएको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकी, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम बुढा र कृषि शाखा प्रमुख दिपसन बस्यालले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै आर्थिक उपार्जनमा जोड दिन सहभागी किसानहरूलाई आग्रह गर्नुभयो ।

समापन कार्यक्रममा सहभागीहरूलाई आगामी दिनमा व्यावसायिक रूपमा अघि बढ्न प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक सहभागीलाई मिनी टिलर मर्मतसम्बन्धी आवश्यक औजारसहितको टुल्स सेट निःशुल्क वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन कार्यालयका सूचना अधिकारी ध्रुव खत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top