होमपेज / समाज
पुष १३,सल्यान
सल्यानको कुमाख गाउँपालिकाका विभिन्न खानेपानी मुहानको परीक्षण गर्दा ११ मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) फेला परेको छ । सबैका लागि दिवो खानेपानी, सरसफाई तथा स्वच्छता परियोजनाले पालिका भित्रका विभिन्न ८३ खानेपानी मुहानको पानी परीक्षण गर्दा ११ खानेपानी मुहानमा कोलिफर्म भेटिएको हो ।
पानी परीक्षण ७ वटा प्रमुख प्यारामिटरको आधारमा गरिएको कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार सोनीले जानकारी दिनु भयो । ८ गतेदेखि १२ गतेसम्म गरिएको परीक्षणमा ११ वटा मुहानमा कोलिफर्म, १० वटामा धमिलोपना र बाँकी मुहानको पानीको परीक्षणका प्यारामिटरहरु नेपाल सरकारको मापदण्ड अनुसार रहेको पाइएको उहाँको भनाई छ । नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले पानीको गुणस्तरलाई उच्च प्राथमिकतामा राखिएको सोनीले बताउनु भयो । उहाँले भन्नु भयो नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउनु पालिकाको प्रमुख दायित्व हो । परीक्षणमा समस्या देखिएका मुहानहरुमा आवश्यक सुधारात्मक कार्य तत्काल अघि बढाइन्छ ।
पानी गुणस्तर परीक्षणले समुदायमा सरसफाई र वातावरणीय सचेतना अभिवृद्धि गर्न सहयोग पुगेको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख जीवन शर्माले बताउनु भयो । उहाँले भन्नु भयो पानीको गुणस्तरमा देखिएका समस्यालाई समाधान गर्न समुदायको सक्रिय सहभागिता अपरिहार्य छ ।
पालिकाले आगामी दिनमा पनि सुस्वा परियोजनाको सहकार्यमा यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।





.jpg)