ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अवैध रूपमा सञ्चालन भइरहेका गाडी प्रहरीको नियन्त्रणमा

  सल्यान खबर डेस्क २०८२ मंसिर ३ गते बुधबार १७:३१:०६ मा प्रकाशित

सल्यान प्रहरीले जिल्लामा अवैधानिक रूपमा सञ्चालन भइरहेका चारवटा साना जिप गाडी नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न भित्री सडकहरूमा सञ्चालन हुँदै आएका गाडीमा नम्बर प्लेट, इन्जिन नम्बर र च्यासिस नम्बर बिलबुकमा उल्लेखित विवरणसँग नमिलेपछि प्रहरीले विभिन्न मितिमा ती गाडी नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार भे.१ज १२१४, मे.१ज १९१२, रा.१ज ५१० र भे.१ज ७३५ नम्बरका गाडी नियन्त्रणमा लिएको छ । 

नियन्त्रणमा रहेका जिप गाडीका विषयमा बुधबार बिहान पत्रकार सम्मेलन गरेर अवैधानिक रूपमा सञ्चालन भइरहेका सवारीसाधन सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शारदा नगरापालिका– १ श्रीनगर–रुकुमचोकस्थित सल्यान–रुकुमको पक्की सडकखण्डमा नम्बर फरक देखिने गाडी चलेका छन् भन्ने सूचनाका आधारमा चेकजाँच गरिएको थियो । चेकजाँचका क्रममा केही गाडीमा इन्जिन र च्यासिस नम्बर डिलिट गरिएको, केहीमा नम्बर प्लेटमा अंक मिलान नभएको, केहीमा बिलबुकमा भएको नम्बर र गाडीमा भेटिएको नम्बर पूर्ण रूपमा फरक रहेको भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिइएका गाडीमा नम्बर नमिलेको, बिलबुकमा रहेको विवरण फरक देखिएका कारण ती गाडी शंकास्पद अवस्थामा देखिएको र थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । उक्त गाडीहरू अवैध रूपमा भित्र्याइएका, चोरी भएका वा नम्बर हेरफेर गरेर चलाइएका हुन सक्ने आशंकामा नियन्त्रणमा लिएको बताए । उक्त गाडीहरू राजस्व अनुसन्धान विभाग, कोहलपुर पठाउने तयारी भइरहेको उनकाे भनाइ छ । नम्बर हेरफेर, चोरी वा अवैध रूपमा ल्याइएको भए–नभएको विषयमा विभागमार्फत थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

नियन्त्रणमा रहेका गाडी १० वर्षदेखि १८ वर्षसम्म पुराना रहेको पाइएको छ । प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेम केसीले जिल्लामा अन्य गाडीहरू पनि अवैध रूपमा चलिरहेको हुन सक्ने भन्दै कडाइका साथ चेकजाँच भइरहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top