होमपेज / समाज
रामप्रसाद शर्मा पुष २८,सल्यान
नेपाल रेडक्रस सोसाइटी उपशाखा दार्माको चौथो साधारण सभा सम्पन्न भएको छ। चौथो साधारण सभा कार्यक्रमका जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असबिर बुढाथोकीले नेपाल रेडक्रस सोसाइटीका जन्मदाता महामानव हेनरी ड्युनाको फोटोमा माल्यार्पण गर्दै र चौथो साधारण सभाको ब्यानर पढेर सभाको उद्घाटन गर्नुभएको थियो।
उद्धार पछिको शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै प्रमुख अतिथि बुढाथोकीले नेपाल रेडक्रस सोसाइटी उपशाखा दार्माले स्थापनाको छोटो समयमै दार्मा र दर्माली जनताको जनजीविकाको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताउनु भयो। एक वर्ष गएको भूकम्पले दार्मा गाउँपालिका भित्र धेरै क्षति गरेकोमा भूकम्प पुर्न लाभ कार्यक्रम मार्फत समस्यामा परेका जनतालाई सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको छ।
त्यस्तै साधारण सभा कार्यक्रममा आफ्ना शुभकामना मन्तव्य राख्दै दार्मा गाउँपालिका उपाध्यक्ष जुना मल्ल चन्दले नेपाल रेडक्रस सोसाइटी उपशाखा दार्मा मार्फत सञ्चालनमा रहेका विभिन्न परियोजनाले दार्मा सरकार सँग सहकार्य गरेर दर्माली जनताको जीवनमा योगदान गरेको बताउनुभयो ।
उपाध्यक्ष मल्ल चन्दले नेपाल रेडक्रस सोसाइटी दार्मा उपशाखाले पहिलेका वर्ष भन्दा यो वर्ष आजीवन सदस्यतामा उल्लेखनीय वृद्धि गरेकोमा धन्यवाद दिँदै आजीवन सदस्य अझै बिस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
चौथो साधारण सभा कार्यक्रममा दार्मामा क्रियाशील राजनैतिक दल , जनप्रतिनिधि , समाजसेवी , शिक्षक, कर्मचारी, सुरक्षाकर्मी , पत्रकार लगाएको उपस्थिति रहेको थियो।
संस्थाका सभापति अनन्त प्रसाद शर्माको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रकाश शर्माले गर्नुभएको थियो भने चौथो साधारण सभामा उपस्थित अतिथि र सदस्यहरूलाई स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष बुद्धि बहादुर थापाले गर्नुभएको थियो ।
चौथो साधारण सभा कार्यक्रममा संस्थाका सचिव प्रकाश शर्माद्वारा संस्थाको प्रगति विवरण सहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव शर्माले उपशाखा दार्माले स्थापना देखि अहिले सम्म आइपुग्दा संस्थालाई र संस्थामा आबद्ध हुने आजीवन सदस्य सबैलाई संस्थामा पुर्याएको योगदान प्रति धन्यवाद व्यक्त गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा दार्मामा अहिले सम्म १६० आजीवन सदस्य रहेका छन् ।