ट्रेण्डिङ

होमपेज / समाज

शारदा नगरपालिकामा मिनी टिलर मर्मतसम्भार तालिम सम्पन्न, ४१ किसान लाभान्वित

  सल्यान खबर डेस्क २०८३ असार २३ गते मंगलबार २१:०२:१४ मा प्रकाशित

सल्यान, असार २३ । शारदा नगरपालिकाले कृषिमा यान्त्रीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको मिनी टिलर (हाते ट्र्याक्टर) मर्मतसम्भार तालिम सम्पन्न भएको छ। असार २१ गतेदेखि सञ्चालन भएको तीनदिने तालिम सोमबार एक कार्यक्रमका बीच समापन गरिएको हो।

तालिम समापन कार्यक्रम शारदा नगरपालिका–१ का वडा अध्यक्ष प्रदीपकुमार पाण्डेको अध्यक्षता तथा नगर प्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगर उपप्रमुख सुस्मिता सापकोटा, नगर प्रवक्ता राजेशकुमार शर्मा, वडा नं. ३ का अध्यक्ष तुल्सा भण्डारी, कृषि विकास शाखा प्रमुख कबिराज ज्ञवाली, जनप्रतिनिधि, कृषि प्राविधिक तथा तालिममा सहभागी किसानहरूको उपस्थिति रहेको थियो।

शारदा नगरपालिकाका विभिन्न वडाबाट सहभागी भएका ४१ जना किसानलाई मिनी टिलर (हाते ट्र्याक्टर) को सञ्चालन, नियमित मर्मतसम्भार, सामान्य प्राविधिक समस्या पहिचान तथा समाधानका विषयमा व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो। तालिममा कृषि उपकरणको सही प्रयोग, इन्धन तथा इन्जिनको नियमित हेरचाह, आवश्यक पार्टपुर्जाको व्यवस्थापन र उपकरणको आयु बढाउने उपायबारे समेत जानकारी गराइएको थियो।

समापन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश भण्डारीले आधुनिक कृषि प्रणालीलाई प्रभावकारी बनाउन कृषियन्त्रको सही प्रयोगसँगै त्यसको मर्मतसम्भारसम्बन्धी ज्ञान आवश्यक रहेको बताउनुभयो। उहाँले किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले समय–समयमा यस्ता सीपमूलक तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि कृषकको आवश्यकता अनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

कार्यक्रमका अध्यक्ष तथा वडा नं. १ का वडा अध्यक्ष प्रदीपकुमार पाण्डेले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न किसानलाई आग्रह गर्दै कृषि उत्पादन वृद्धि र लागत न्यूनीकरणमा यस्ता तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कृषि विकास शाखा प्रमुख कबिराज ज्ञवालीले कृषिमा बढ्दो यान्त्रीकरणसँगै उपकरणको नियमित मर्मतसम्भारबारे जानकारी हुनु अत्यावश्यक रहेको बताउनुभयो। उहाँका अनुसार सामान्य प्राविधिक समस्या आफैं समाधान गर्न सक्दा किसानको समय र खर्च दुवै बच्ने भएकाले यस्ता तालिमको आवश्यकता बढ्दै गएको छ।

तालिममा सहभागी किसानहरूले पनि तालिम निकै उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्। मिनी टिलर बिग्रँदा सामान्य समस्याका लागि पनि बजार वा प्राविधिकको भर पर्नुपर्ने अवस्था अब धेरै हदसम्म हट्ने विश्वास व्यक्त गर्दै उनीहरूले यस्ता तालिमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न नगरपालिकासँग आग्रह गरेका छन्।

शारदा नगरपालिकाले कृषिलाई व्यवसायिक, आधुनिक र उत्पादनमुखी बनाउने नीति अनुरूप किसानको क्षमता अभिवृद्धि गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। नगरपालिकाका अनुसार यस्ता सीपमूलक तालिमले कृषि उत्पादनमा वृद्धि हुनुका साथै किसानको उत्पादन लागत घटाउन र कृषिलाई दिगो तथा आत्मनिर्भर बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top