होमपेज / समाज
जेठ १४ २०७७,सल्यान
सल्यान शारदा नगरपालिका १४ ढाँरखानीमा खानेपानीको चरम समस्या देखिएको छ ।
गाउँ नजिकै रहेको पानीको स्रोत नरहेको र भएका पानीका मुहना पनि सुक्न थालेपछि खानेपानीको हाहाकार भएको स्थानीयले बताएका छन् । गर्मी बढेसँगै पानीका मुहान सानो हुदै जान थालेपछि दश लिटर पानीका लागि घण्टौ पधेरामा लाइन बस्नु पर्ने बाध्यता रहेको स्थानीय गणेश गिरीले बताए ।
उनले भने विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न समय समयमा मिचि मिचि हात धुनु पर्ने सन्देश सुनी रहे पनि एक गाग्री खानेपानी ल्याउन धौ धौ भइरहेको छ । एक गाग्री पानी खानु की साबुन पानीले हात धुनु । पानीको अभाव भएपछि शौचालय पनि प्रयोग विहिन हुन थालेको उनको भनाई छ । एक घण्टा लगाएर ल्याएको पानी घरभित्रै सकिने भएकाले शौच गर्न निकै समस्या हुने गरेको उनको भनाई छ ।
एक सय ४० घरधुरीको एउटा मुहानको पानी घट्दै जानथाले पछि खानेपानीको समस्या भएको स्थानीय प्रशान्त घर्तीले बताए । उनले भने १ सय ४० घरभन्दा बढीको एउटै पधेरो छ । त्यो पनि गर्मी बढेसँगै रातभर जाग्राम बसेर पानी भर्नु पर्ने बाध्यता छ । अहिले खानेपानीका लागि आधा घण्टाको दुरीमा रहेको कुइराचौरबाट पानी ल्याउनु पर्ने बाध्यता रहेको उनको भनाई छ ।
ढारखानीको खानेपानी समस्या समाधान गर्न भन्दै लिफ्ट खानेपानी योजना परेको भन्ने सुने पनि कार्यन्वयनमा नआएको उनले बताए । उनले भने १८ महिना भित्रै खानेपानी ल्याउछौं भनेर प्रत्येक घरबाट चार हजार पाँच सय रुपैया उठाएर लगे तर एक वर्ष भन्दा बढी भइसके पनि केही थाहा हुन नसकेको छैन ।





.jpg)