होमपेज / समाज
सल्यान, असार २० — सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित सवारी सञ्चालनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सल्यानमा लागू पदार्थ सेवन (ला.प.से.) र मादक पदार्थ सेवन (मा.प.से.) सम्बन्धी संयुक्त चेकजाँच कार्यक्रम सञ्चालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यान र जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानको संयुक्त आयोजनामा शारदा नगरपालिका–१ श्रीनगर बसपार्क नजिक राप्ती राजमार्गमा सञ्चालन गरिएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटा, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक पातली, शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटालगायतको सहभागिता रहेको थियो। कार्यक्रममा शारदा मेट्रो अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको थियो।
संयुक्त टोलीले सवारी चालकहरूलाई ट्राफिक नियमको पालना गर्न, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरेर सवारी नचलाउन तथा जिम्मेवार र सुरक्षित ढंगले सवारी सञ्चालन गर्न आग्रह गर्दै सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको थियो। सो अवसरमा ट्राफिक नियमसम्बन्धी स्टिकर टाँस्नुका साथै पोस्टर र पम्प्लेट वितरण गरिएको थियो।
चेकजाँचका क्रममा ५ जना चालकको लागू पदार्थ सेवन परीक्षण (ला.प.से.) गरिएकोमा १ जनामा पोजिटिभ देखिएको प्रहरीले जनाएको छ। त्यस्तै ६० जना चालकको मादक पदार्थ सेवन परीक्षण (मा.प.से.) गरिएकोमा १ जना चालक पोजिटिभ फेला परेका छन्।
प्रहरीका अनुसार लागू पदार्थ तथा मादक पदार्थ सेवन गरेको पुष्टि भएका दुवै चारपाङ्ग्रे सवारी चालकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा लिइएको छ।
कार्यक्रममा उद्योग वाणिज्य संघ सल्यान, चालक संघ सल्यान, विभिन्न यातायात व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
प्रहरीले सडक सुरक्षा अभिवृद्धि, दुर्घटना न्यूनीकरण तथा जिम्मेवार सवारी सञ्चालनको संस्कार विकास गर्न यस्ता चेकजाँच र सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।





.jpg)