होमपेज / समाज
सल्यान — शारदा नगरपालिका–२ डाँडागाउँका कृष्णराज उपाध्यायले चार वर्षदेखि गाउँमै बाख्रापालन व्यवसाय गरिरहेका छन् । ७ वटा बाख्राबाट व्यवसाय सुरु गरेका उनको फार्ममा अहिले स्थानीय र बोयर जातका एक सय खसीबोका, बाख्रा र पाठापाठी छन् । यो व्यवसायबाट उनको घरखर्च मात्र चलेको छैन, बचत पनि क्रमश: बढिरहेको छ ।
वार्षिक ७ लाख रुपैयाँ कमाउँदै आएका उनले बजार र भाउको समस्या नभएपछि बाख्रापालनमा हौसिएका छन् ।
शारदा नगरपालिका–८ मार्केका जीवराज बोहराको पनि मुख्य व्यवसाय नै बाख्रापालन हो । सिर्जनशील बाख्रा फार्म खालेर व्यवसाय अघि बढाएका उनको खोरमा अहिले ७० खसीबोका, बाख्रा र पाठापाटी छन् । यो व्यवसायबाट ६ जनाको परिवार पाल्दै आएका उनले २ युवालाई पनि गाउँमै रोजगारी दिएका छन् ।
सरकारी र अन्य निकायहरूले व्यावसायिक पशुपालनमा लगानी र अनुदान बढाएपछि किसानलाई व्यावसायिक बन्न मद्दत मिलेको छ । जिल्लाभरि १ सय ३३ वटा बाख्रापालन फार्म दर्ता भएको भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ । व्यापारीहरू घरमै आएर खसीबोका खरिद गर्न थालेपछि र बजारमा मासुको भाउ बढ्दै गएपछि यव्यवसाय फस्टाएको उपाध्यायले बताए ।
कार्यालयका अनुसार गत वर्षसम्म सल्यानमा ५ लाख ८ हजार स्थानीय र उन्नत जातका बाख्रा थिए भने यो वर्ष त्यो संख्या झन्डै ६ लाख पुगेको छ । गत वर्ष कार्यालयले ७५ किसानलाई आधुनिक खोर बनाउन अनुदान दिएको थियो । जिल्लामा वार्षिक करिब ७० करोड रुपैयाँका खसीबोका र बाख्रा उत्पादन हुने गरेको कार्यालयको तथ्यांक छ । काल्चेका ४५ वर्षीय सुरेश गाहामगरले यो व्यवसायले आफूलाई आत्मसम्मान र सन्तुष्टि दिएको बताए । २०७० मा ९ वटा बाख्राबाट सुरु गरेका उनको खोरमा अहिले १ सय ८ बाख्रा, खसीबोका र पाठापाठी छन् ।
व्यावसायिक बाख्रापालन बढेपछि गत वर्षको लकडाउनयता मात्रै आफूले झन्डै १ करोड रुपैयाँका खसीबोका बिक्री गरेको बन्गाडकुपिण्डे नगरपालिकाका व्यापारी रूपलाल परियारले बताए । जिल्लाका झन्डै १ हजार किसान व्यावसायिक बाख्रापालनमा लागेको पशु अस्पताल तथा भेटेनरी कार्यालयका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए । उनका अनुसार गत वर्ष मात्र सल्यानबाट ६४ करोड रुपैयाँका ४२ हजार ८ सय खसीबोका जिल्ला बाहिर गएको छ ।
ekantipur





.jpg)