ट्रेण्डिङ

होमपेज / समाज

कोरोनाले सल्यानका उद्योग धन्दा बन्द

  सल्यान खबर डेस्क २०७८ जेठ २९ गते शनिबार १४:५३:४२ मा प्रकाशित

सल्यान — बन्गाडकुपिण्डे नगरपालिका–९ सेराका पूर्णबहादुर बुढाथोकीले गाउँमै पाँच वर्षदेखि टिमुर, बेसार र अदुवा प्रशोधन उद्योग सञ्चालन गरिरहेका छन् । उनको उद्योगमा टिमुर, अदुवा, बेसार, दालचिनीलगायतको पाउडर उत्पादन हुन्छ ।

वार्षिक झन्डै ३० हजार प्याकेट मसला उत्पादन गर्दै आएको उद्योग ३ महिनायता बन्द छ । शारदा नगरपालिका–१ श्रीनगरमा सञ्चालन गरिएको भण्डारी गार्मेन्ट पनि दुई महिनादेखि बन्द छ ।

कोरोना महामारी र निषेधाज्ञाका कारण सल्यानमा सञ्चालित झन्डै १ हजार ४ सय उद्योग र व्यापारिक प्रतिष्ठान बन्द छन् । घरेलु तथा साना उद्योगका रूपमा सञ्चालित फर्निचर, ग्रिल, गार्मेन्ट, टिमुर, अदुवा प्रशोधन, बुटिक, होजियारी, सिलाइकटाइलगायत उद्योग ठप्प भएका हुन् । उद्योग बन्द हुँदा झन्डै २ हजार ५ सय मजदुरको रोजगारी गुमेको छ ।

उद्योग बन्द भएपछि मासिक ३ लाख रुपैयाँ घाटा सहनुपरेको गार्मेन्टका सञ्चालक वीरेन्द्र भण्डारीले बताए । ‘अब त बैंकको ब्याज तिर्न पनि समस्या भयो,’ उनले भने, ‘उद्योगमा ताला लाग्दा कर्मचारी र परिवार पाल्न हम्मेहम्मे परेको छ ।’ कोरोनाका कारण गत वर्ष पनि मुस्किलले ६ महिना चलेको उद्योग राम्ररी नफस्टाउँदै फेरि बन्द गर्नुपरेको उनले गुनासो गरे ।

प्रशोधन उद्योग बन्द हुँदा किसानले उत्पादन गरेका सामग्रीहरू घरमै थन्किएको बुढाथोकीले बताए । ‘किसानले उत्पादन गरेका सामग्री घरमै थन्काएका छन्,’ उनले भने, ‘उद्योगमा उत्पादन भएको झन्डै दुई लाख रुपैयाँको पाउडर पनि बिक्री भएको छैन ।’ महामारीले फर्निचर उद्योग बन्द हुँदा व्यवसाय नै धरापमा परेको कालीमाटी गाउँपालिका–३ महेश भण्डारीले बताए । उनले गाउँमा फर्निचर उद्योग सञ्चालन गरी मासिक ५० हजार रुपैयाँसम्म कमाइ गर्दै आएका थिए ।। दुई युवालाई रोजगारी दिएका थिए । उद्योग बन्द भएपछि ५ जनाको परिवार पाल्न पनि समस्या भएको उनको गुनासो छ । पाँच जनाको परिवार सजिलै पाल्दै आएको थिए,’ उनले भने, ‘उद्योग बन्द हुँदा छाक टार्नै मुस्किल भयो,’ उनले भने, ‘बन्दले गर्दा आयआर्जनका सबै बाटो रोकिए ।’ उनका अनुसार गाउँमा सञ्चालित दुई दर्जन साना उद्योग लकडाउनकै कारण बन्द छन् ।

उद्योग बन्द भएपछि उत्पादित सामग्री थन्काउनुपर्ने बाध्यता भएको सदरमुकामस्थित खैराबाङी फर्निचर उद्योगका सञ्चालक राजु गौतमले बताए । उनका अनुसार दुई महिना उद्योग बन्द हुँदा झन्डै ७ लाख रुपैयाँको घाटा भएको छ । ‘पुरानै गतिमा उद्योग चलाउन निषेधाज्ञा खुले पनि चार/पाँच महिना पर्खिनुपर्छ,’ उनले भने, ‘केही कच्चा पदार्थ काम नलाग्ने अवस्थामा पुगेको छ ।’ उनले सदरमुकामका चार विषयगत कार्यालयका लागि निर्माण गरिएका फर्निचर उद्योगमै थन्किएको बताए । साना उद्योग सञ्चालन गरेर गाउँमै स्वरोजगार बन्न थालेका युवाहरू निषेधाज्ञाका कारण बेरोजगार बनेको स्थानीय निर्मल चनाराले बताए । ‘अब परिवारको खर्च जुटाउन मजदुरी गर्नुको विकल्प छैन,’ उनले भने, ‘आफ्नो सीप र दक्षताको उपयोग गरी गाउँमा केही गरौं भन्दा पनि सफल भइएन ।’ उनले सदरमुकाममा फलामका विभिन्न औजार निर्माण गर्ने उद्योग सञ्चालन गरिरहेका छन् ।

ekantipur 

प्रतिक्रिया

सम्बन्धित खवर

Top