होमपेज / समाज
सल्यान — बाग्चौर नगरपालिका–१२ तरलेका ७५ वर्षीय केशबहादुर ओलीले ४ वर्षअघि आफ्नै लगानीमा खानेपानी योजना बनाए । तर साउन पहिलो साता गाउँमाथिबाट खसेको पहिरोले खानीपानीको पाइपलाइनमा क्षति पुर्याएपछि ३ सातादेखि खोलाको धमिलो पानी खान बाध्य छन् ।
पहिरो र तरेलीखोलामा आएको बाढीले ४ खानेपानी योजनामा क्षति पुर्याएपछि उनी मात्र होइन, बाफूखोलाका करिब २ सय परिवार खोलाको पानी उपभोग गर्न बाध्य छन् ।
जरेपानी, ओखरेनी, सितलेगोठ, अधेरी, तीनगैरा, जंगले र चौरागाउँका बासिन्दा पानी परेको दिन आकाशेपानी र अरु दिन खोलाको पानीले प्यास मेटाउने गरेका छन् । खोलाको पानी पिउँदा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको स्थानीय दुर्गाबहादुर खत्रीले बताए । ‘पानीकै कारण गाउँमा झाडापखाला फैलिने डर छ,’ उनले भने, ‘खोलाको पानी भर्न पनि आधा घण्टा हिँड्न बाध्य छौं ।’
खानेपानी समस्या समाधान गर्न नगरपालिकाले बेवास्ता गरेको स्थानीय कमला डाँगीले बताइन् । ‘पानी परे फेरि पहिरो खस्ने हो कि भन्ने डर छ,’उनले भनिन्, ‘पानी नपरे खानीपानी समस्या ।’ पहिरोका डरले २ सातासम्म विस्थापित भए पनि पानीकै समस्या भोगेपछि गाउँमा फर्किएको उनको भनाइ छ । उनका अनुसार गाउँका अधिकांश परिवारले आफै पाइप खरिद गरी घरसम्म खानेपानी पुर्याएका थिए ।
बाढी–पहिरोले खानेपानी योजनासहित सिँचाइ र लघु जलविद्युत्मा पनि क्षति पुर्याएको स्थानीय अगुवा जयबहादुर खत्रीले बताए । ओखरेनीखोलामा आएको बाढीले विजय लघु जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि ओखरेनी, जरेपानी, चौराडाँडा, तरलेखोली, सिमगैरा र ठूलीपोखरीका २ सय ६५ घरपरिवार अँध्यारोमा बस्नुपरेको उनको भनाइ छ । उनका अनुसार विद्युत् सुविधा नहुँदा स्थानीय बासिन्दा लाल्टिन, टुकी र सल्ले झर्रोलगायत परम्परागत साधन प्रयोग गरी रात गुजार्न बाध्य छन् । ‘पाक्दै गरेको अन्नबालीसहितको खेतबारी पनि पहिरोले बगायो,’ उनले भने, ‘तत्काल राहत वितरण नभए गाउँमा खाद्यान्न अभाव हुने देखियो ।’
बाग्चौर नगरपालिका–१२ का वडाध्यक्ष दिपक ओलीले बाढी–पहिरोले विभिन्न योजनामा ठूलो क्षति पुर्याएको बताए । उनका अनुसार बजेट अभावमा खानेपानी योजना मर्मत गर्न नसकिएको हो । ‘पहिरोपीडितको राहत र भत्किएका योजना मर्मतका लागि विभिन्न निकायमा पहल भइरहेको छ,’ उनले भने, ‘क्षति ठूलो भए पनि सीमित बजेट हुँदा नगरपालिकाले तत्काल केही गर्न नसकेको हो ।’
Ekantipur





.jpg)