ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा पहिलोपटक रुख उन्यु फेला

  सल्यान खबर डेस्क २०८२ बैशाख २९ गते सोमबार १२:५३:५० मा प्रकाशित

जैविक विविधता र सम्पदाले भरिपूर्ण कर्णालीमा दुर्लभ वनस्पति रुख उन्यु फेला परेको छ । कर्णाली प्रदेशको सल्यानमा साइथिया स्पाइनुलोसा नामक रुख उन्यु फेला परेको हो । सल्यानको दार्मा गाउँपालिका ३ स्थित धुलखर्क सामुदायिक वन र कपुरकोट गाउँपालिका ४ मा रहेको कालिका सामुदायिक वन रुख उन्यु भेटिएको वनस्पति अनुसन्धान केन्द्र सल्यानले जनाएको छ ।

स्थानीय नेत्रलाल घर्तीले उक्त वनस्पतिको तस्बिर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेपछि वातावरणविद् जीवन शर्मा, कर्णाली प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक केशव बस्याल, र प्राकृतिक स्रोत व्यवस्थापन अध्ययनरत टोपेन्द्र गिरीको टोलीले बैशाख ७ गते दार्मामा स्थलगत अवलोकन गरेका थियो। 

टोलीद्वारा संकलित नमुना, फोटोग्राफ र प्रत्यक्ष अध्ययनको आधारमा उक्त वनस्पति साइथिया स्पाइनुलोसा भएको पुष्टि गरिएको थियो ।  नेपालमा यो प्रजाति प्रायः पूर्वी र मध्य क्षेत्रका चिस्यानयुक्त वन क्षेत्रमा पाइँदै आएको छ । तर, पश्चिम नेपाल तथा विशेष रूपमा कर्णाली प्रदेशमा यो पहिलोपटक अभिलेख गरिएको हो । यसले पश्चिम नेपालमा यस प्रजातिको सम्भावित वितरण क्षेत्रको संकेत गरेको विज्ञहरूको भनाइ छ ।

नेपालमा पाइने साइथियाका चार प्रजाति सूचीकृत छन्, जसमध्ये दुई संकटासन्न, एक दुर्लभ र एक लोपोन्मुख अवस्थामा छन् ।  यद्यपि, साइथिया स्पाइनुलोसालाई भने यसको उपस्थिति र फैलावटको आधारमा ’कम चासो को प्रजाति मानिने वनस्पति अनुसन्धान केन्द्र, सल्यानका प्रमुख डा. मित्र पाठकले बताए । 

 विभिन्न देशहरूले यसलाई दुर्लभ, संकटापन्न वा ’कम चासो’को सूचीमा राखेको उनको भनाइ छ । उनका अनुसार  नेपालमा यसअघि यो सात सय ५० देखि दुई हजार मिटरको उचाइमा पूर्व र मध्य नेपालमा मात्र पाइने उल्लेख थियो । ताइवानमा भने यो तीन सयदेखि दुई हजार पाँच सय  मिटरको उचाइमा घना जंगलमा पाइन्छ । सल्यानको यो खोजले यसको वितरण पूर्व र मध्य नेपालबाट पश्चिम नेपालसम्म विस्तार भएको पुष्टि गरेको छ ।

’काँडेदार फर्न रुख’ भनेर पनि चिनिने साइथिया स्पाइनुलोसाका विभिन्न परम्परागत प्रयोगहरू छन्  । यसलाई छाला, मिर्गौला, आँखाको संक्रमण, क्यान्सर, मधुमेह र क्षयरोगको उपचारमा परम्परागत औषधिको रूपमा प्रयोग गरिन्छ । डाक्टर पाठकले भन्नुभयो ‘यसका पातहरू अचार र तरकारीका लागि प्रयोग हुन्छन् भने डाँठको गुदी खानयोग्य हुन्छ । यो सजावटी बोटका रूपमा पनि लोकप्रिय छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top