ट्रेण्डिङ

होमपेज / राजनीति

घरदैलोसँगै मतदाता शिक्षामा सल्यानको गठबन्धन

  सल्यान खबर डेस्क २०७९ कार्तिक २४ गते बिहीबार १६:१९:०६ मा प्रकाशित

 कार्त्तिक २४,सल्यान 

सल्यानमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्न मतदाताको घरदैलोमा व्यस्त छन् । यहाँका ठुला दलदेखि स्वतन्त्र र साना दलहरू आ–आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउन घरदैलोसँगै चुनावी सभा, भेला र गोष्ठी गरिरहेका छन् ।

आफ्नो पक्षमा मत माग्ने मात्र भन्दा पनि सल्यानका सत्तापक्ष गठबन्धन दलले भने घरदैलासँगै मतदाता शिक्षालाई समेत सँगसँगै अगाडि बढाएको छ । उसले बदर मतको सङ्ख्या कम गर्नका लागि मतदाता शिक्षामा आफ्नै कार्यकर्तालाई परिचालन गरेको छ । गठबन्धन दलले मतदाता शिक्षाका लागि कार्यकर्तालाई टोल–टोलमा नमुना मतपत्रसहित पठाएको छ ।

गठबन्धन दल नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले  गाउँ–गाउँमा मतदाता शिक्षा पु¥याएको हो । गठबन्धनबाट फरक–फरक पार्टीको चिह्नमा एउटै मतदाताले मत दिनुपर्ने भएकाले मतदाता शिक्षा सञ्चालन गर्नुपरेको नेकपा माओवादी प्रदेश सभा (ख) का कार्यालय सचिव कमल डिसीले बताउनु भयो । मतदाता शिक्षाको अभावमा मतदाताले हालेको अमूल्य मत खेर नजाओस् भनेर पार्टीको प्रचारसँगै मतदाता शिक्षालाई प्राथमिकता दिएको उहाँको भनाई छ । उहाँले भन्नु भयो गएको स्थानीय तहको निर्वाचनमा धेरै म तबदर भएको पाइयो । धेरै दुख कष्ट गरेर मतदाता मतदान स्थलमा आएका हुन्छन् , त्यति दुख गरेर हालेको मत बदर हुँदा जसलाई पनि नरमाइलो लाग्छ । त्यसैले बदर मतलाई घटाउन मतदाता शिक्षालाई जोड दिएका छौँ । 

पहिलो पटक निर्वाचनमा भोट हाल्न पाउने युवायुवतीहरूलाई कसरी मत हाल्ने, कति ठाउँमा मत हाल्नु पर्छ भन्ने थाहा नहुन सक्ने भएकाले यस प्रकारको कार्यक्रम गर्दै आइरहेको उहाँको भनाई छ । 

निर्वाचनको प्रचारप्रसारसँगै मतदाता शिक्षाका लागि हरेक वडामा व्यक्तिहरू खटाइएको नेकपा (एकीकृत समाजवादी) की नेतृ कल्पना सेजवालले जानकारी दिनु भयो । 

निर्वाचन आयोगले मतदाता शिक्षालाई समेत राजनीतिक दलको काँधमा राखिदिएकाले मतदाता शिक्षा दिन दल आफैले कार्यकर्ता खटाउनुपरेको उहाँको भनाई छ  । उहाँले भन्नुभयो, ‘निर्वाचनका लागि आयोगले दिएको प्रचार–प्रसारको समय सीमाभित्र मतदाता शिक्षाका लागि कार्यकर्ता खटाएका छौँ ।’ 

आम नागरिकले मतदानमा भाग लिन पाउने राजनीतिक अधिकार संरक्षणका लागि मतदाता शिक्षा दिइएको सेजवालको भनाई छ । पहिले दूर दराजका ग्रामीण मात्र नभएर सहरी इलाकाहरूमा समेत बदर मत सङ्ख्या बढेको देखिँदा मतदाता शिक्षा आवश्यक रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘हरेक मतदाताको मतदान वैध हुनुपर्छ, मतदान प्रक्रियामा उत्साहजनक सहभागिता हुनुपर्छ । मतदाता शिक्षाले नै मतदाताको क्षमता अभिवृद्धि हुन्छ र मतदान प्रक्रियामा सहभागी हुने मनोबल उच्च पार्छ ।’

निर्वाचनको समयमा हुन सक्ने दलको चुनाव चिन्ह बारे प्रभावकारिता कायम राख्न र मतदानमा देखिएको चुनाव चिन्हको अन्यौलता कम गर्न तालिम प्रदान गरिएको प्रदेश सभा (क) का गठबन्धनका साझा उम्मेदवार भीम प्रकाश शर्माले बताउनु भयो ।  मतदान कसरी गर्ने र आफ्नो मत कसरी सुरक्षित गर्ने भन्ने विषयमा मतदाता शिक्षामा खटिएकाले सिकाउने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top