ट्रेण्डिङ

होमपेज / फिचर

गुरुयोजनाविनै भौतिक निर्माण, जोखिममा कुपिण्डे ताल

  सल्यान खबर डेस्क २०७७ माघ २९ गते बिहीबार १६:०९:३९ मा प्रकाशित

सल्यान : सल्यानको प्रमुख पयर्टकीय क्षेत्र कुपिण्डे ताल जोखिममा परेको छ। ताल नजिकबाट मोटरबाटो खनिएकाले ताल पुरिनुका साथै पर्यटकले फालेको फोहोरको  व्यवस्थापन नहुँदा प्रदूषित हुँदै गएको छ।

नेपाल सरकारले घोषणा गरेको देशका १०० पर्यटकीय क्षेत्रमध्ये कुपिण्डे ताल पनि एक हो। तर, गुरुयोजनाविना नै विकासका काम गर्दा ताल जोखिममा पर्दै गई रहेको छ। ताल वरिपरि जथाभावी सडक खन्दा फालिएको माटोले तालको क्षेत्र साँघुरिएको स्थानीयहरु बताउँछन्। यस्तै, फोहोर व्यवस्थापन नहुँदा ताल क्षेत्र दुर्गन्धित बनेको छ ।

सरकारी बजेटको दुरुपयोग हुँदा कुपिन्डे ताल पर्यटक आकर्षणको केन्द्र बन्न नसकेको स्थानीय कमल केसीको आरोप छ । उनका अनुसार निर्माण गरिएका अधिकांश संरचना भत्किएका छन्। केही निर्माणाधीन योजना अलपत्र छन् । अहिलेसम्म कुपिन्डे क्षेत्रमा तीनवटा प्रतिक्षालय, एउटा चार कोठे भवन, प्रवेशद्वार र एक किलोमिटर सडकमा निर्माण गरिएका छन्। एउटा प्रतिक्षालय र तालको छेउसम्म जान बनाइएको रेलिङसहितको सिँढी भत्किएको छ ।

कुपिन्डेको विकासका लागि साविक जिल्ला विकास समिति र पर्यटन बोर्डले पछिल्लो एक दशकमा झन्डै एक करोड रुपैयाँ खर्चिएका छन्। साविक भू–संरक्षण कार्यालयको ५० लाख र सांसद क्षेत्र विकास कोषको ४० लाख रुपैयाँ खर्च भएको कुपिन्डेमा संघीय सरकारले २५ लाख रुपैयाँ अनुदान दिएको थियो । प्रदेश सरकार र बनगाड कुपिन्डे नगरपालिकाले पनि ४०÷४० लाख रुपैयाँ खर्च गरिसकेका छन्।

उक्त रकमबाट तटबन्ध, गेट, सडक निर्माणलगायत योजना सम्पन्न भएको बनगाड कुपिन्डे–८ का वडा अध्यक्ष कुलबहादुर पुरीले बताए । उनले धेरै बजेट सडकमा खर्च हुँदा खासै प्रगति नदेखिएको बताए। ‘सडकबाट खस्ने ढुंगामाटोले ताल बढी जोखिममा छ,’ उनले भने, ‘वातावरणीय प्रभाव मूल्यांकन नगरी योजना बनाउँदा बढी क्षति देखियो ।’ वडा कार्यालयले ताल अवलोकन गर्न आउने पर्यटकको सुविधाका लागि चारैतिर रेलिङ बनाउने र होमस्टे सञ्चालन गर्ने योजना अघि सारेको छ ।

एकद्वार विधिबाट बजेट खर्च नहुँदा विकासका लागि आएको रकम सदुपयोग नभएको ताल संरक्षण समिति अध्यक्ष चेतबहादुर कुँवर बताउँछन्। ‘हामीले योजना बनाए पनि रकम अर्कै उपभोक्ता समितिको नाममा आउँथ्यो,’ उनले भने, ‘समितिबाटै काम भएको भए अहिलेसम्म खर्च भएको रकमले कुपिन्डेको मुहार फेरिन्थ्यो ।’ 

अध्यक्ष कुँवरका अनुसार दैनिक करिब २०० जना आन्तरिक पर्यटक कुपिन्डे ताल घुम्न आइरहेका छन् । पर्यटकका लागि खाना र बासको उचित व्यवस्था मिलाउन सके मात्रै ताल पर्यटकको आकर्षणको केन्द्र बन्ने उनको भनाइ छ। 

कुपिन्डेको विकासका लागि गुरुयोजना र कार्यविधि नबन्दा संरक्षणको काम प्रभावित बनेको बनगाड कुपिन्डे नगर प्रमुख गोविन्दकुमार पुनले बताए । उनले गुरुयोजना बनाउन पहल भइरहेको जनाए । ३० हेक्टर क्षेत्रफलमा फैलिएको तालको लम्बाइ १ हजार २०० मिटर, चौडाइ २५० मिटर र गहिराइ ५१ मिटर छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top