होमपेज / अर्थ
सल्यान, २८ असार ।
मलेसियामा रेल दुर्घटनामा परेर ज्यान गुमाएका सल्यान कालिमाटीका मेघराज वलीको घर परिवारलाई २ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको छ । अन्तर्राष्ट्रिय प्रवासी नेपाली मञ्च मलेसियाको पहलमा सङ्कलन भएको रकम बिहीबार घर परिवारलाई हस्तान्तरण गरिएको हो ।
कालीमाटी गाउँपालिका वडा नम्बर २ स्थित मृतक मेघराजको घरमा पुगेर नेकपा एमाले सल्यानले आर्थिक सहायता हस्तान्तरण गरेको हो । नेकपा एमाले सल्यानका अध्यक्ष भीम बहादुर सेनले पार्टीका जिल्ला उपाध्यक्ष ओज बहादुर बुढाथोकी, उपसचिव सनसिल्ता वली डिसी, एमाले कालीमाटी गाउँपालिकाका अध्यक्ष केशर बुढा लगायतको सहभागितामा मृतकको श्रीमती सविता वलीलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
वैदेशिक रोजगारीको सिलसिलामा रहेका बेला मलेसियामा २०८० माघ २७ गते मेघराजको पार्टी निकटको सङ्गठन प्रवासी नेपाली मञ्चको कार्यक्रममा जाने क्रममा रेल दुर्घटनामा परेर ज्यान गएको थियो । मलेसियामा सङ्कलित रकम एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अध्यक्ष भक्त बहादुर रावत र प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य विमला भण्डारीले एमाले जिल्ला कमिटी सल्यानका अध्यक्ष सेनलाइ काठमाडौँमा उपलब्ध गराएका थिए ।
उक्त सहायता रकम हस्तान्तरण गर्दै अध्यक्ष सेनले पार्टीका जुझारु योद्धा तथा नेपाल राष्ट्रिय युवा सङ्घमा आबद्ध मेघराजको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै खोकलाइ शक्तिमा बदल्न आग्रह गर्दै पीडित परिवारको साथमा पार्टी रहने बताएका थिए ।





.jpg)