होमपेज / अर्थ
कात्तिक २६, सल्यान
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सल्यानबाट २१ हजार २२ बेरोजगार सूचिकृत भएका छन् । आर्थिक वर्ष २०७७÷०७८ का लागि जिल्लाका दश वटै पालिकामा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचिकृत भएका हुन ।
सरकारले २०७७ साउन ८ गतेदेखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।
बेरोजगार व्यक्ति उपर वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार छानिएका व्यक्तिलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचिकृत गरिएको शारदा नगरपालिका रोजगार संयोजक शान्ता बुढाथोकीले बताइन । गत वर्ष बजेट ढिला निकासी र कोरोनाका कारण धेरैले रोजगारी नपाएपनि यो वर्ष भने समयमै कार्यक्रम सञ्चालन हुने उनको भनाई छ ।
सूचिकृत बेरोजगार व्यक्तिलाई क्रमशः प्राथमिकताका आधारमा न्युनतम एक सय दिनको काममा लगाइने बागचौर नगरपालिकाका रोजगार संयोजक नवराज डाँगीले बताए ।
दार्मा गाउँपालिकामा २ हजार १८ महिला र २ हजार ४ सय ८५ पुरुष गरी ४ हजार ५ सय ३, कुमाख गाउँपालिकामा १ हजार ४७ महिला, १ हजार ७ सय ९६ पुरुष गरी २ हजार ८ सय ४३, बनगाड कुपिण्डे नगरपालिकामा ४ सय ६२ महिला र ४ सय ९० गरी ९ सय ५२, सिद्ध कुमाख गाउँपालिकामा ९ सय ७० महिला र १ हजार २५ पुरुष गरी २ हजार २ गते बेरोजगार सूचिकृत भएका छन् ।
यस्तै बागचौर नगरपालिकामा २ हजार ४ सय २२ महिला र ३ हजार २९ महिला गरी ५ हजार ४ सय ५२, छत्रेश्वरी गाउँपालिकामा १ सय २५ महिला र १ सय ५३ पुरुष, २ सय ७८, शारदा नगरपालिकामा १ हजार ६९ महिला र ६ सय ४० पुरुष गरी १ हजार ७ सय ९, कालिमाटी गाउँपालिकामा ७ सय १८ महिला र १ हजार २ सय १७ पुरुष गरी १ हजार ९ सय ३५, त्रिवेणी गाउँपालिकामा ३ महिला र ४ पुरुष गरी ७ र कपुरकोट गाउँपालिकामा ६ सय १६ महिला र ७ सय २५ पुरुष र १ हजार ३ सय ४१ बेरोजगार सूचिकृत भएका छन् ।
गत आर्थिक वर्षको तुलनामा यो वर्ष बेरोजगारको संख्यामा वृद्धि आएको देखिएको छ । गत आ.व.मा १३ हजार ८ सय ७७ जना सूचिकृत भएका थिए । जसमा १ हजार ७ सय ३५ जनाले मात्र रोजगारी पाएका थिए ।