ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

छत्रेश्वरी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

  सल्यान खबर डेस्क २०८२ जेठ २७ गते मंगलबार १६:३७:४७ मा प्रकाशित

जेठ २७,सल्यान 

छत्रेश्वरी गाउँपालिकालाइ एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । घोषणा कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय सल्यानको तर्फबाट खोप कभरेज (खोपको सेवा पहुँचमा) छत्रेश्वरी गाउँपालिका जिल्लामै पहिलो हुन सफल भएको छ । नियमित खोप कार्यक्रम अन्तर्गत १५ महिनामुनिका बालबालिकामध्ये ९० प्रतिशतभन्दा बढीले सम्पूर्ण खोप प्राप्त गरेको प्रगतिका आधारमा छत्रेश्वरी पहिलो स्थानमा आउन सफल भएको उक्त कार्यक्रममा जानकारी गराइएको छ । 

छत्रेश्वरी गाउँपालिकाका सात वटै वडामा गरेर जन्मेदेखि १५ महिनामुनिका ३३६ जना बालबालिकाले नियमित खोप पाइरहेको र १६ महिना देखि २३ महिनासम्मका ३३३ जना बालबालिकाले पूर्ण खोप पाएकाले खोप समन्वय समिति सल्यानले प्रमाणपत्र प्रदान गर्दै छत्रेश्वरीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो । स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक तथा जिल्ला स्तरीय खोप समन्वय समिति समितिका सदस्य सचिव डाक्टर अर्जुन कुमार बुढाले गाउँपालिकालाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समितिका संयोजक ओज बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री लगायत वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्य सेवा कार्यालयका प्रतिनिधिहरू, पालिका स्थित विभिन्न शाखाका प्रमुख, प्रतिनिधिहरू, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जनप्रतिनिधीसंगै स्वास्थ्यकर्मीहरूको समर्पण, महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियता र समुदायको निरन्तर साथले गर्दा पालिकाले यो उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “म बनाउँछु मेरो छत्रेश्वरी भन्ने अभियानका साथ हामी पालिकाको समग्र विकासमा हातेमालो गर्दै अघि बढिरहेका छौँ । अब हामीले यस उपलब्धिलाई कायम राख्दै अझ दिगो बनाउने योजना बनाएका छौँ ।” यस्तै छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले खोप सँगै पालिकाले पूर्ण सरसफाइ अभियानलाई पनि प्राथमिकतासाथ अगाडी बढाइरहेको बताउनुभयो । 

स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक डाक्टर बुढाले नियमित खोप कार्यक्रमले सङ्क्रामक रोगहरूलाई निवारण गर्न मात्र नभई बाल मृत्युदर घटाउन र समग्र बाल स्वास्थ्यमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

यस्तै जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य सेवा कार्यालय सल्यानका खोप फोकल पर्सन तारा रिजालले विगतमा महिला स्वास्थ्य स्वयमसेविकाहरुबाट मात्रै घरधुरी सर्वेक्षण हुनेगरेकोमा यस पटक स्वास्थयकर्मीहरुबाट नै गत माघ देखि चैतसम्म खोप सेवाको लागि घरदैलोमा गएको भन्दै छुट भएका बालबालिकालाई गत वैशाखमा खोप लगाइएको बताउनुभयो । “देशभरको तथ्याङ्क हेर्ने हो भने, अझै पनि चार प्रतिशत बालबालिकाले पूर्ण रुपमा खोप नपाएको र १६ प्रतिशतले कुनै न कुनै खोप नपाएको स्थिति छ । सल्यानमा पनि १५ जना बालबालिका छुटेका थिए । खोजी गरेर खोपको पहुँचमा ल्याएका छौँ,” उहाँले भन्नुभयो । 

घोषणा कार्यक्रममा वडा नं २ का वडाध्यक्ष प्रेम बहादुर नेपाली, ४ का वडाध्यक्ष छविलाल खत्री, वडा नं ६ का वडाध्यक्ष टिकाराम बुढा लगायतले बोल्दै खोप कार्यक्रमलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । सो अवसरमा खोप कार्यक्रममा योगदान पुर्‍याएको भन्दै सात वटै वडालाई सम्मान गरिएको थियो । 

गाउँपालिकाका खोपको अवस्थाका सन्दर्भमा छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले प्रस्तुतीकरण गर्नुभएको थियो भने स्वास्थ्य संस्थाहरूको तर्फबाट आधारभूत स्वास्थ्य सेवा केन्द्र जामुनेखोलाका प्रमुख सिअहेव वीर बहादुर वलीले आफ्नो भनाई राख्नुभएको थियो । पहेन विमला डाँगीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top