ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

छत्रेश्वरीमा भएको मानसिक स्वास्थ्य सेवामा १६६ जनाले पाए सेवा

  सल्यान खबर डेस्क २०८२ जेठ २३ गते शुक्रबार १७:२८:१४ मा प्रकाशित

सल्यान, २३ जेठ ।

छत्रेश्वरी गाउँपालिका र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र ९सीएमसी० नेपालले सञ्चालन गरेको प्रवद्र्धन परियोजनाले पछिल्लो समय मानसिक, सामाजिक र भावनात्मक स्वास्थ्य प्रवद्र्धनमा सकारात्मक सुधार देखिएको छ । 

यस कार्यक्रम अन्तर्गत आज यस छत्रेश्वरी गाउँपालिकाको सभाहलमा कार्यक्रमको समिक्षा, सिकाइ र आगामी योजना निर्माण गर्न छत्रेश्वरी गाउँपालिकामा सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । प्रवासी कामदार र तिनका परिवारका सदस्यहरुको मानसिक स्वास्थ्य र मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन परियोजनाका क्रियाकलापबाट हाँसिल गरिएका उपलब्धी, सिकाई, चुनौती र आगामी योजनाका बारे वृहत रुपमा छलफल भएको हो । 

गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीको अध्यक्षतामा भएको बैठकमा मानसिक समस्याबाट पिडित व्यक्तिहरूले यदि समयमा उपचार पाए भने उनीहरू नयाँ जीवनतर्फ अघि बढ्न सक्छन् भन्ने सफलताका उदाहरण पनि प्रस्तुत गरिएको थियो ।   

बैठकमा बोल्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष बुढाथोकीले मानसिक स्वास्थ्यलाई ध्यान दिएर काम गरिरहेको भन्दै आगामी दिनमा यसलाई अझै प्रभावकारी रुपमा अगाडी बढाइने बताउनुभयो । “मानसिक स्वास्थ्यलाई गम्भीरतापूर्वक लिन जरुरी छ । समयमै सही परामर्श पाएमा जीवन नै फेरिन सक्छ । त्यसैले पीडितलाई सहायता उपलब्ध गराउन हामी सबै जिम्मेवार हुनुपर्छ,” बैठकमा उहाँले भन्नुभयो । 

यस्तै प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम तथा लक्षित समूहका सदस्यहरुको जीविकोपार्जनमा यस कार्यक्रमले राम्रो प्रभाव पारेको भन्दै गाउँपालिकाले साथी स्वयमसेवक परिचालन गरेको, स्वास्थयकर्मीहरुलाई तालिम प्रदान लगाएतका काम गरिरहेको बताउनुभयो । 

कार्यक्रममा सिएमसी नेपालका नीति, रणनीति र सुशासन प्रमुख हिमाल गैरेले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा वडास्तरमा विस्तारका लागि विशेष ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभयो । 
 
पछिल्लो समय छत्रेश्वरीमा मानिसहरू स्वास्थ्य संस्थामा गएर औषधि उपचार गराउने र मनोपरामर्श लिनुपर्छ भन्ने भावनाको बिकास भएको पाइको छ । गाउँपालिकाका मनोसामाजिक परामर्शकर्ता गिता पहाडीले प्रस्तुत गरेको विवरण अनुसार छत्रेश्वरी गाउँपालिकाभित्र गत पुस १७ देखि हालसम्म १६६ जनाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा प्राप्त गरेका छन् । मानसिक रोगको औषधी उपचार पाईरहेको व्यक्तिहरु मध्ये ४० जना पुर्ण रुपमा निको भएको र अन्य सुधार हुने क्रममा रहेका छन् ।  

यसैगरी १७ जना मानसिक समस्या भएका तथा बैदेशिक रोजगारमा गएको सदस्यहरुलाई बिऊपुँजी रकम सहयोग पछि उनीहरुले तरकारी खेती तथा पशुपालनबाट आम्दानी गर्दै आएका छन् । 

हालसम्म ७४१ घरमा गई भेटघाट गरी मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको बारेमा जानकारी गराइएको छ । जसमा ४५ जना मानसिक समस्या भएका व्यक्तिहरु प्हिचान भई स्वास्थ्य संस्थामा रिफर पछि औषधी उपचार र मनोसामाजिक परामर्श लिईको र उनीहरुको अवस्था अहिले सुधारजनक रहेको छ । गाउँपालिकामा ३ जना साथी स्वयमसेवक नियुक्त भएर समूह तथा समुदायस्तरमा परिचालन भइरहेका छन् । 

बिद्यालयहरुमा मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम, मानसिक स्वास्थ्य समस्या भई औषधी उपचार पछि निको भएका बिरामीहरु मार्फत आफुजस्ता बिरामीहरुलाई मानसिक स्वास्थ्यको बारेमा जानकारी दिने लगाएतका क्रियाकलापहरु छत्रेश्वरीमा सञ्चालन भइरहेका छन् । सल्लाहकार समितिको बैठकमा वडा नं ६ का वडा अध्यक्ष टिकाराम बुढा, ७ का वडाध्यक्ष टेक बहादुर विष्ट, सिएमसी नेपालका कार्यक्रम अधिकृत अनत चौधरी तथा विभिन्न विषयगत शाखाका कर्मचारी लगाएको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top