होमपेज / स्वास्थ्य
सल्यान, २७ फागुन ।
सल्यानमा विद्यालय पढ्ने ३३७ जना किशोर किशोरीको रक्त समूह पहिचान र हेमोग्लोबिन जाँच गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ ले आफ्नो वडा भित्रका किशोर किशोरीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यस प्रकारको जाँच गरेको हो ।
१० देखि १९ वर्ष उमेर समूहका २२२ जना किशोरी र ११५ किशोर जना किशोरहरूको रक्त समूह र ह्मोग्लोबिन जाँच गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्र दोहलीका प्रमुख ऐन प्रकाश बुढाथोकीले जानकारी दिए । परीक्षणका क्रममा सबैको हेमोग्लोबिन स्तर ११ भन्दा माथि रहेको पाइएको उनले जनाए । विशेष गरी किशोरीहरूले नियमित रूपमा आइरन सेवन गरिरहेका कारण उनीहरूको हेमोग्लोबिन स्तर सुरक्षित देखिएको स्वास्थ्य संस्थाले जनाएको छ ।
रक्त समूह पहिचान गर्दा आकस्मिक अवस्थामा रगतको आवश्यकता परेमा छिटो र प्रभावकारी रूपमा रगतको व्यवस्था गर्न सजिलो हुने तथा हेमोग्लोबिन जाँचले किशोर किशोरीहरूको पोषण स्तरको जानकारी दिने भएकाले यस प्रकारको जाँचको कार्यक्रम राखिएको छत्रेस्वरी ३ का वडा अध्यक्ष तीर्थराज दाहालले जानकारी दिए । किशोरकिशोरीहरुमा स्वास्थ्य सम्बन्धी सचेतना बढाउन र उनीहरूलाई सही आहार तथा नियमित स्वास्थ्य जाँचको महत्त्व बुझाउन यो कार्यक्रमले सहयोग पुर्याएको उनको विश्वास छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका ल्याब असिस्टेन्ट छवि बुढाथोकी, छायाक्षेत्र स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट सुनिता खड्का लगायतको स्वास्थ्यकर्मीको टोली परीक्षणमा खटेको थियो ।
स्वास्थ्यकर्मीको टोलीले किशोर किशोरीलाई स्वस्थ जीवनशैली अपनाउन, पोषणयुक्त खाना खान र आइरनयुक्त आहार निरन्तर सेवन गर्न सुझाव पनि दिएको थियो । वडा कार्यालयले आगामी दिनमा पनि यस्ता स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ ।