ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानमा स्वास्थ्यतर्फको जिल्लास्तरिय समिक्षा, परामर्श र सचेतनामा जोड

  सल्यान खबर डेस्क २०८१ आश्विन २० गते आइतबार १८:१८:३५ मा प्रकाशित

सल्यान, २० असोज ।

परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा प्रणालीको महत्त्वपूर्ण हिस्सा भएको भन्दै सल्यानमा आयोजित एक कार्यक्रमका वक्ताहरूले व्यक्तिगत र समुदायगत स्वास्थ्यलाई सुधार गर्नुपर्नेमा जोड दिएका छन् । 

स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा आइतबार देखि सुरु भएको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा बोल्ने वक्ताहरूले रोग लाग्न नदिन र स्वास्थ्य सेवाको पहुँच सुधारका लागि परामर्श र सचेतनाका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका हुन् । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले स्थानीय स्तरमा स्वास्थ्य सम्बन्धी जोखिमका बारे जानकारी गराउने, सचेतना फैलाउनाले रोग लाग्नुअघि मानिसहरू सावधान बन्ने भएकाले रोकथामका उपायबारे परामर्श गर्नुपर्ने बताए । 

कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बोल्दै जानकारीको कमीका कारण धेरै मानिसहरू समयमै उपचार गर्न नपाउने र जसले गर्दा रोग गम्भीर बन्न सक्ने भएकाले सचेतनाका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताए । 

स्वास्थ्य कार्यक्रमहरूको निरन्तरता र सुधारका लागि सरोकारवालाहरूको समन्वय र सहकार्य अपरिहार्य रहेकोमा सहभागीहरूको जोड थियो । स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डाक्टर अर्जुन बुढाले स्वास्थ्य सेवामा देखिएका चुनौतीहरू, जनशक्ति, स्रोत साधनहरूको कमी, र आगामी दिनमा ती चुनौतीहरूलाई कसरी समाधान गर्ने भन्ने विषयमा योजना तर्जुमा गरिने बताए । 

आ व २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा जिल्लाका १० वटै स्थानीय तह, जिल्ला अस्पताल, स्वास्थ्य सेवा कार्यालय, जिल्ला आयुर्वेदिक कार्यालय, स्वास्थ्य बिमा कार्यक्रम, स्वास्थ्य सम्बन्धी साझेदार संस्थाहरूले वार्षिक प्रगति विवरण सहितको प्रस्तुतीकरण गरिरहेको स्वास्थ्य सेवा कार्यालयका थलराज डिसीले जानकारी दिए । 

सोमबार समापन हुने गोष्ठीमा एक अर्को स्थानीय तहका उत्कृष्ट स्वास्थ्य कार्यक्रमबारे सिक्ने, कमजोरीहरू पत्ता लगाएर सुधार गर्ने तथा लक्ष्य प्राप्तिका लागि आगामी कार्य योजना तयार गरिने उनको भनाई छ । 

प्रस्तुतीकरणमा खोप अभियान, मातृ स्वास्थ्य, बाल स्वास्थ्य, सरुवा रोग नियन्त्रण, तथा अन्य प्राथमिक स्वास्थ्य सेवाहरूमा केन्द्रित विषयलाई जोड दिइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top