होमपेज / स्वास्थ्य
फागुन ७,सल्यान
सल्यानका २ प्रतिशत बालबालिका कुपोषित रहेको एक तथ्यांकले देखाएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानले आज बुधबार कार्यालय परिसरमा आयोजना गरेको पत्रकारहरु सँगको अभिमुखिकरण कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक भएको हो । जसमा जिल्लाभरको बालबालिकाको अबस्थालाई हेर्दा कुपोषित बालबालिकाको संख्या २ प्रतिशत रहेको पाइएको छ ।
स्वास्थ्य संस्थाहरुमा गरिएको बालबालिकाहरुको तौलको आधारमा यस्तो तथ्यांक सार्वजनिक भएको कार्यालयका सुचना अधिकारी थलराज डिसीले जानकारी दिए । उनका अनुसार जिल्लाभर कुपोषित बालबालिकाको संख्या अझै धेरै हुन सक्छन् । उनले भने ‘अहिलेसम्मको तथ्यांकलाई हेर्दा २ प्रतिशत देखिएको छ, त्यो तौल जाँच गरेकाको संख्या मात्रै हो, गाउँघरमा त्यस्ता खालका बालबालिका अझै धेरै भएको हुन सक्छन्’ ।
कार्यालयका अनुसार जिल्लाको दार्मा गाउँपालिकामा सबै भन्दा धेरै कुपोषित बालबालिका भेटिएका छन् । जिल्लाको भ–ूबनोट र खानेबानीमा भएको समस्याका कारण बालबालिकामा कुपोषण देखिएको छ । उनका अनुसार कुपोषणको मुख्य दोष गरिबि नै हो । ‘जिल्लाको सबै क्षेत्रका बालबालिकामा पोषणको अवस्था कमजोर नै रहेको छ, त्यसमा पनि दार्मा गाउँपालिकाका बालबालिकामा अझ बढी छ’ उनले भने ।
बिहान बेलुकाको राम्रोसँग दुई छाक टार्नसमेत समस्या भएपछि बालबालिकालाई पोषिलो खानेकुरा खुवाउन समस्या भएकै कारण कुपोषण भएको बताइएको छ । खाना खाने बानीमा सुधार नआएसम्म बालबालिकामा लाग्ने कुपोषणले जरा गाडी रहने सूचना अधिकारी डिसीको भनाई छ । गाउँघरमा खाना पोषिलो भन्दा पनि छाक टार्नका लागि खाने गरेकाले यस्तो समस्या देखिएको उनले बताए ।