ट्रेण्डिङ

होमपेज / फिचर

शिक्षण पेशासँगै व्यावसायिक घाँस खेतीमा रमाउँदै गाहामगर, वार्षिक सात लाख आम्दानी

  दिपक शर्मा २०७७ फाल्गुण ८ गते शनिबार १५:५८:०१ मा प्रकाशित

दीपक शर्मा फागुन ८,सल्यान 
कालिमाटी गाउँपालिका ५ दमदुवालीका सुरेश कुमार गाहा मगर पेशाले शिक्षक हुन । उनले गाउँ नजिकै रहेको जनता माध्यमिक विद्यालयमा अध्ययन गराउँदै आइरहेका छन् । तर आजभोली उनको परिचय शिक्षकमा मात्र सिमित छैन । उनी एक सफल कृषकको रुपमा पनि आफूँलाई उभ्याउन सफल भएका छन् । 

विगत पाँच वर्ष देखि व्यावसायिक घाँस खेती गर्दै आइरहेका गाहा मगरले घाँस बिक्रीबाट मात्रै वार्षिक ७ लाख आम्दानी गर्दै आइरहेका छन् । मगरले ३० रोपनी क्षेत्रफलमा व्यावसायिक घाँस खेती गर्दै आइरहेका छन् । बिहान र बेलुकाको समयमा घाँस बारीमा जाने गरेको उनले बताए । यसरी अतिरिक्त व्यावसाय गर्दा शारिरिक तथा मानसिक रुपमा सन्तुष्टि समेत मिलेको शिक्षक मगरको अनुभव छ । उनले भने ‘दिनभर विद्यालयमा साना बालबालिकालाई पढाउँदा थकाई लागेको हुन्छ तर बेलुका घाँसबारीमा पुग्दा दिनभरको थकान मेटिने गर्दछ ।’ 

३० रोपनीमा लगाइको घाँसमा सुपर नेपियर, सिओ फोर, पासपालन, सुम्बा सेतरिया, मुलाटो लगायतका  रहेका छन् । उत्पादन भएको घाँसको बजारीकरणमा कुनै समस्या नहरेको उनको भनाई छ । समूह, सहकारी, पशु सेवा कार्यालयले अडर गर्ने गरेको उनले बताए । उनले भने ‘उत्पादन भएको घाँस बिक्री हुँदैन की भन्ने चिन्ता लिनु पर्दैन जती पनि बिक्री हुन्छ । विशेष गरी दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यानका कृषि समूह, सहकारी र सरकारी तथा गैर सरकारी कार्यालयहरुले लिदै आइरहेका छन् ।’ 

घरका अन्य सदस्यहरुले समेत व्यावसायको हेरचाह गर्ने, सघाउ पु¥याउने भएपछि जागिर गर्न कठिनाई नभएको उनले बताए । घाँसको विक्री वितरणदेखि हेरचाह गर्न दुई जनालाई रोजगारी समेत दिएको गाहाले बताए । उनले भने ‘शिक्षक भएपछि कृषि पेशा अंगाल्नु हुदैन भन्ने सामाजिक मान्यता रहेको छ । त्यस्तो मान्यतालाई तोड्न पनि मैले व्यावसायिक घाँस खेती र बाख्रापालन गर्दै आइरहेको छु ।’ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top